Header Ads

यसकारण पाइनन् रेखाले टिकट !

नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । केही वर्ष अगाडिसम्म सफलतासँग मात्र साक्षात्कार गर्न पाएकी रेखा गएको वर्षदेखि असफलताको प्रिय मित्र बनेकी छिन् । 'पलाँस', 'डायरी' र 'रुद्रप्रिया'बाट रेखाले फल्प फिल्ममा ह्याट्रिक मारिन् ।
चाँडै 'रत्ना' नामक फिल्ममा व्यस्त हुने तयारीमा रहेकी रेखालाई अहिले भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले छोएको छ । माओवादी छाडेर बाजा बजाउँदै राप्रपा प्रवेश गरेकी रेखालाई यसै वर्ष पशुपति सम्सेर राणाले माला लगाउँदै राप्रपा (प्रजातान्त्रिक)मा भित्राए । देशकी चर्चित नायिकालाई पार्टीमा टिकाइराख्न राणाले उनलाई सहमहामन्त्रीको पद दिए । रेखा मख्ख परिन् ।
माओवादीमा रहँदा रेखालाई प्रचण्डले पर्सा–१ बाट टिकट नदिएका होइनन् तर मतदाता नामाबलीमा नाम नलेखेकै कारणले गर्दा उनी उम्मेद्वार बन्न सकिनन् । कमल थापा नेतृत्वको राप्रपा नेपालमा रहँदा कुनैपनि जिम्मेवारी नपाएपछि उनले पार्टी छाडेको चर्चा छ । राप्रपा (प्रजातान्त्रिक)को सहमहामन्त्रीमा मनोनित भएपछि रेखाले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिने ठूलै हल्लाखल्ला थियो । तर, पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेपछि उनको उम्मेद्वार भएर सांसद बन्ने सपना गर्भमै तुहियो ।
खासमा, रेखा सर्लाही–३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा थिइन् तर त्यहाँ कांग्रेसको उम्मेद्वार अगाडि नै पक्का भैसकेका कारण उनलाई पार्टीले ब्याक हुन आग्रह गर्यो । उनले एक अन्तर्वार्तामा बाम गठबन्धन नभएको भए आफू काठमाडौंबाटै चुनाव लड्ने बताएकी छिन् । उनलाई राप्रपा (प्रजातान्त्रिक)ले काठमाडौं ४, ६ र सर्लाही ३ बाट उम्मेद्वारमा सिफारिस गरेको थियो ।
अहिले उनी पार्टी अध्यक्ष पशुपतिशमशेर राणा प्रतिनिधिसभा सदस्यमा जिताउनका लागि सिन्धुपाल्चोक पुगेर घरदैलो कार्यक्रममा दौडिरहेकी छिन् । फ्लप फिल्मसँगै पार्टी प्रवेशमा पनि ह्याट्रिक मारेकी रेखालाई राजनीतिक यात्रा खासै सुखद हुन सकेको छैन । आशा गरौं, एकसमय नेपाली फिल्ममा एकलौटी वर्चश्व जमाएकी रेखाले राजनीतिमा पनि आफूलाई सफल सावित गर्नेछिन् ।

No comments

Powered by Blogger.